कैलालीकी एक महिला नयाँ बसपार्कको गेस्ट हाउसमा मृत फेला
काठमाडौँ । काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसमा जिल्ला प्रहरी परिसरले महिलाको शव फेला पारेको छ । प्रारम्भिक अनुसन्धानपछि उनको हत्या भएको निष्कर्षसहित प्रहरीले अनुसन्धानलाई तिव्रता दिइएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले मृत भेटिएकी महिला कैलालीको धनगढीकी निशा सुनार रहेको बताएका छन् । उनले मृत महिलाको उमेरलगायत विस्तृत विवरण भने खुलि नसकेको जनाएका छन् ।
अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, ती महिला सो होटलमा कसैलाई भेट्नका लागि गएको हुन सक्छ । आइतबार होटलको कोठाबाट गन्ध आएपछि प्रहरी कन्ट्रोल १०० मा खबर गरिएको थियो । त्यसक्रममा प्रहरी पुगेर हेर्दा शव भेटिएको थियो ।
प्रहरीले शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महराजगञ्ज पठाएको छ । थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।




















