sevenstartv.com १० साउन २०८३, आइतवार

बाजुरामा बाढीका कारण १६ घरधुरी प्रभावित, ३ घरधुरी उच्च जोखिममा

८ साउन २०८३, शुक्रवार स्टार संवाददाता

धनगढी । अविरल वर्षा आएसँगै बाढी, पहिरोका कारण बाजुराको बडिमालिका नगरपालिका, ९ सेलागाडमा १६ घरधुरी प्रभावित भएका छन् । तीमध्ये ३ घरधुरी उच्च जोखिममा परेको जनाइएको छ । जिल्लाका विभिन्न स्थानमा पहिरो खस्दा सडक समेत अवरुद्ध भएको छ । 

शुक्रवार बिहान करिब ४:३५ बजे सेलागाड क्षेत्रमा माथिबाट आएको बाढी, पहिरोले नदी थुनिएपछि बस्तीमा पानी पसेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक नरेश शाहीले बताएका छन् ।

शुक्रवार बिहानदेखि मौसममा केही सुधार देखिए पनि थप वर्षा हुन सक्ने सम्भावना रहेकाले नदी किनार र पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ । उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली घटनास्थल पुगेर उद्धार तथा सरसामान सुरक्षित स्थानमा सार्ने काम गरेको जानकारी गराएका छन् ।

प्रहरीका अनुसार प्रभावित १६ घरधुरीमध्ये ३ घरधुरी उच्च जोखिममा रहेको र घटनामा मानवीय वा क्षति भएको छैन । उच्च जोखिममा रहेका तीन घरधुरीको अवस्था निरन्तर निगरानीमा राखिएको जनाइएको छ।

सोहि बाढी, पहिरोका कारण बडिमालिका नगरपालिका, ८ राप्कास्थित टोट्के सिँचाइ नहरमा करिब २३० मिटर प्लास्टिक पाइप र २५ मिटर पक्की नहर बगेको जानकारी गराइएको छ। बिहान साँफेबगर, मार्तडी सडकखण्डअन्तर्गत बडिमालिका नगरपालिका, ६ जडाङ्गा क्षेत्रमा पहिरो खस्दा सडक केही समय पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्