निरंकुशताका विरुद्ध संघर्ष गर्न कम्युनिस्ट आन्दोलन आवश्यक : प्रचण्ड
काठमाडौं । गत फागुन २१ को चुनाव पछि मौन रहेका नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालको हालको परिस्थिती र कम्युनिस्टको हविगतका बारेमा चर्चा गर्न थालेका छन् ।
उनको कम्युनिस्ट आन्दोलन अहिले चुनौतीपूर्ण अवस्थामा पुगेको ठहर छ । नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवसका अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गरी नयाँ ऊर्जा साथ अघि बढ्नु पर्नेमा जोड दिएका छन् ।
संयोजक प्रचण्डले पुष्पलाल र नरबहादुर कर्माचार्यजस्ता नेताहरूको योगदान स्मरण गर्नु केवल औपचारिकता नभई कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवित गर्ने र देशको नेतृत्व गर्ने सङ्कल्प गर्ने अवसर भएको धारणा राखेका छन् ।
उनले राष्ट्रिय स्वाधीनतामाथि सङ्कट देखिएको, कम्युनिस्ट आन्दोलन असाधारण अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको र त्यसलाई एकताबद्ध गर्नुपर्नेमा जोड दिएका छन् । देशमा देखापरेको निरङ्कुश प्रवृत्तिको प्रतिरोध गर्दै लोकतान्त्रिक मूल्य, मान्यता र राष्ट्रिय हितको रक्षा गर्न पुनः सङ्घर्षमा उत्रिनुपर्ने अवस्था सिर्जना भएको जिकिर गरेका छन्।
देशमा अहिले राष्ट्रिय स्वाधीनतामाथि आइपरेको सङ्कट समाधान गर्ने देखि लिएर कम्युनिस्ट आन्दोलनमाथि आएको असाधारण अप्ठ्यारो परिस्थितिको सामना गर्ने र कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नु पर्नेमा उनले जोड दिएका छन् । उनले देशमा देखापरेको निरङ्कुश प्रवृत्तिका विरुद्ध फेरि एकचोटि संघर्ष गर्ने दृढ अठोट गर्ने बेला आएको बताउँदै कम्युनिस्ट एकता अपरिहार्य रहेको बताएका छन् ।




















