सुनसरीका पाँच स्थानिय तहमा मात्र निषेध कायम, अन्य स्थानबाट हटाइयो
सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाको सुरक्षा अवस्था क्रमशः सुधारोन्मुख रहेको निष्कर्ष निकाल्दै अधिकांश क्षेत्रमा जारी गरिएको निषेध आदेशलाई हटाउँदै गएको छ ।
प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले आइतबार जारी गरेको सूचनाका आधारमा अब देवानगञ्ज, भोक्राहा नरसिंह, कोशी र हरिनगर गाउँपालिकामा मात्रै निषेध आदेश कायम हुने उल्लेख गरिएको छ ।
प्रशासनका अनुसार चार स्थानीय तहमा आइतबार बिहान ९ः ३० बजेदेखि साँझ ७ बजेसम्म लागू हुने छ । सुनसरीका १० स्थानीय तहमा लागू गरिएको निषेध आदेश सुरक्षा अवस्थाको समीक्षा पश्चात् अन्य स्थानबाट हटाइएको प्रशासनले जनाएको छ ।
निषेध आदेश कायम रहेका क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन, जुलुस, प्रदर्शन तथा शान्ति सुरक्षामा असर पुग्ने गतिविधि नगर्न प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ । साथै आदेशको पूर्ण पालना गर्न र सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न पनि अनुरोध गरिएको छ ।
















