sevenstartv.com २१ साउन २०८३, बिहिवार

भदौ १५ सम्म मतदाता नामावली अद्यावधिक गर्नुपर्ने

२१ साउन २०८३, बिहिवार स्टार संवाददाता

काठमाडौँ । मतदाता नामावली सङ्कलनका लागि आवश्यक सहयोग गर्न भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई आग्रह गरेको छ ।

सबै गाउँपालिका र नगरपालिकालाई मन्त्रालयले बुधबार पत्राचार गर्दै प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई मतदाता नामावली सङ्कलन गर्न आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्नका लागि आग्रह गरेको हो ।

केही समयअघि नै निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्ने निर्णय गरिसकेको छ । आयोगको साउन १५ गतेको बैठकले मतदाता नामावली अद्यावधिक गर्ने र त्यसका लागि वडास्तरमा नै आवश्यक कार्यक्रम सञ्चालन गर्ने निर्णय सार्वजनिक गरेको थियो ।

आयोगले वडा स्तरमा नै मतदाता नामावली विस्तृत रूपमा अद्यावधिक गर्ने योजना सहित काम अघि बढनएको छ । यो क्रममा स्थानीय पञ्जिकाधिकारीसँग समन्वय गरी विवाह, बसाइँसराइ तथा मृत्यु भएका मतदाताको विवरण मतदाता नामावलीसँग भिडाई अद्यावधिक गराउने छन् । यो कार्य आगामी भदौ १५ सम्म सम्पन्न गर्ने समयसीमा तोकिएको छ ।

आयोगले यो कार्यका लागि आवश्यक व्यवस्था गरिदिन भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको थियो । आयोगको सोही आग्रहबमोजिम मन्त्रालयले सबै स्थानीय तहलाई मतदाता नामावली सङ्कलन एवम् अद्यावधिक गर्ने कार्यका लागि आवश्यक सहयोग एवम् सहजीकरणका लागि समेत अनुरोध गरेको हो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्