नागेन्द्र साह नियुक्त भए आयल निगमको कार्यकारी निर्देशकमा
काठमाडौं । नेपाल आयल निगम लिमिटेडको रित्त रहेको कार्यकारी निर्देशक पदमा नागेन्द्र साहले नियुक्ती पाएका छन् । बुधबारको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको कार्यकारी निर्देशकको रुपमा नियुक्त गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आह्वान गरेको खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत साह कार्यकारी निर्देशक नियुक्ति भएका हुन् । नागेन्द्र साह नेपाल आयल निगमका पूर्वनिमित्त कार्यकारी निर्देशक समेत रहेकाले उनलाई नै कार्यकारी निर्देशकको जिम्मेवारी थमाइएको हो ।
यसभन्दा पहिले निगमको कार्यकारी निर्देशकको जिम्मेवारी चण्डिका भट्टले निर्वाह गर्दै आएका थिए । बालेन्द्र शाह नेतृत्वको सरकारले पहिलेको सबै नियुत्ती बदर गरेसँगै उनी स्वातः पद मुत्त भएका थिए ।
कार्यकारी निर्देशक पदका लागि प्युठानका कौशल केसी र सप्तरीका सञ्जीवकुमार देव समेत प्रतिस्पर्धामा थिए । उनीहरुलाई पछि पारेर साह कार्यकारी निर्देशक रुपमा नियुक्त भई जिम्मेवारी सम्हाल्दै छन् ।


















