sevenstartv.com १ भदौ २०८३, सोमवार

आज नागपञ्चमी पर्व : देशभर धुमधामका साथ मनाइँदै

१ भदौ २०८३, सोमवार स्टार संवाददाता

काठमाडौँ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व यस वर्ष पनि धुमधामका साथ मनाइदै छ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदैछ । घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइने प्रचलन रहेको छ ।

यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमास अनुसार भदौको पहिलो दिन यो पर्व परेको हो । नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रही आएको छ ।

नागपञ्चमी पर्वका अवसरमा देशभरका नाग देवताका मठमन्दिरमा श्रदालुभक्तहरुको घुँइचो लागेको छ । नाग देवताको पूजाअर्चनाका लागि बिहानैदेखि भक्तजनहरू देशका विभिन्न स्थानका नागका मन्दिरमा गएर पुजा गर्नुका साथै आफ्नै घरमा समेत विशेष पुजा गरिदै छ ।

नागलाई विष्णु र शिवका रूपमा मान्ने प्रचलन वैदिक सनातनकालदेखि नै चलिआएको छ । शिवले नागको माला लगाउने र विष्णु जलमाथि शेषनागको शय्यामा फणाको छाता ओढी शयनगर्ने भएकाले पनि नागलाई पुजिएको हो ।

असार र साउनमा रोपाइँका लागि पानी पार्न नागहरूले सहयोग गरेको र अब रोपाइँ सकिएकाले उनीहरूप्रति कृतज्ञता ज्ञापन गर्न त्यसरी पूजा गरेको भन्ने लोककथन समेत रहेको छ । नागपञ्चमीका अवसरमा काठमाडौं नक्सालको नागपोखरी, ललितपुरको धापाखेल, भक्तपुरको सिद्धपोखरी एवं काभ्रेको पनौतीसहित देशभरका नागपोखरी तथा मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गरेको छ ।

नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिनमा नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्