प्रधानमन्त्री ओलीभन्दा बढी झुट बोल्ने मान्छे सायद नेपालमा कोही छैन : सांसद् शाही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद् ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा झुट बोल्ने मान्छे सायद नेपालमा कोही नभएको बताएका छन् । आज प्रतिनिधिसभाको बैठकमा उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा नगएर ओलीले झुट बोलेको बताएका हुन् ।
‘पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मका ५६ जना विद्यार्थी दीक्षान्त समारोहका लागि जुम्ला गए । डा. सन्दुक रूइत जानुभयो हामी गयौँ‚’ उनले भने‚‘लास्टमा म आउँदिन दीक्षान्त समारोह पछाडि सार भने त्यहाँ गरेको खर्च प्रमको व्यक्तिगत सम्पत्तिबाट असुल उपर गर्नुपर्छ ।’
प्रधानमन्त्री बिरामी भएको कुरा स्वीकार गर्न सकिने भन्दै उनले भने‚ ‘भ्युटावर भए दौडिएर जानुहुन्थ्यो होला । विश्वविद्यालय भएर जानुहुन्न ।’ उनले कांग्रेस र एमालेको भातृ सङ्गठनलाई सम्हाल्न समेत चुनौती पनि दिएका छन् ।















