संसदीय सुनुवाइ समितिले आज चार जना प्रस्तावित राजदूतको सुनुवाइ गर्दै
काठमाडौं । संसदीय सुनुवाइ समितिले आज सुनुवाइका लागि चार जना प्रस्तावित राजदूतलाई बोलाएको छ । बिहान ११ बजे बस्ने बैठकमा स्पेनका लागि प्रस्तावित राजदूत सनिल नेपाल, श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराई, बेलायतका लागि प्रस्तावित राजदूत चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीको सुनुवाइ गर्न लागेको हो ।
चारै जनाको सुनुवाइ सकेर आजै प्रस्तावित १७ जना राजदूतको बारेमा निर्णय लिइने बताइएकाे छ । पटक पटक गरेर समितिले १७ मध्ये १३ राजदूतको सुनुवाइ सकेको छ । गत भदौं १९ गते रुस, दक्षिण कोरिया, साउदी अरब र दक्षिण अफ्रिकाका प्रस्तावित राजदूतको सुनुवाइ गरेको थियो ।
समितिले आजै अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवका बारेमा १० दिने म्याद राखेर उजुरी आह्वान गर्ने जनाएको छ। गत साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १८ देशमा राजदूत सिफारिस गरेको थियो । कांग्रेसको कोटाबाट सिफारिसमा परेकी प्रस्तावित राजदूत कान्ता रिजालको नाम हटाएर सुनुवाइ समितिमा सुनुवाइका लागि सरकारले नाम पठाएको थियो ।
सरकारले गत सोमबार अष्ट्रेलियाका लागि राजदूतमा पूर्वउपसभामुख एवं कांग्रेसकी पूर्वकोषाध्यक्ष चित्रलेखा यादवलाई सिफारिस गरेको थियो ।















