तीन दलका शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता
काठमाडौं । तीन दलका शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको हो ।
पार्टीको जिल्लास्तरीय कार्यक्रममा रहेका दाहाल आज बिहान मात्रै काठमाडौं आइपुगेका थिए । ओली र दाहालको कुराकानी भइरहेकै समय देउवा पनि बालुवाटार पुगेका थिए । सत्तारुढ दलहरुले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरिरहेका बेला भएको भेटलाई अर्थपूर्ण मानिएको छ । माओवादीले सरकारको यो कदमको विरोध गर्दै आइरहेको छ । प्रधानन्यायाधीश नियुक्तिका लागि हिजो संवैधानिक परिषद्को बैठक बोलाइएको थियो । राना र दाहालको उपस्थिति निश्चित नरहेको सो बैठक भोलिसम्मका लागि सारिएको थियो ।
आजको भेटमा समसामयिक राजनीतिक परिस्थिति, संवैधानिक परिषद् बैठक तथा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने प्रधानमन्त्रीको आशन्न अमेरिका भ्रमणलगायत विषयमा कुराकानी भएको बुझिएको छ ।















