प्रधानन्यायाधीश नियुक्त सिफारिसका लागि आज संवैधानिक परिषद् बैठक बस्दै
काठमाडौं । प्रधानन्यायाधीश तथा रिक्त संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सिफारिसका लागि संवैधानिक परिषद्को बैठक आज बस्ने भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजेका लागि बोलाइएको छ ।
आगामी असोज २० गतेदेखि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अनिवार्य अवकाशमा जाने भएपछि नयाँ प्रधानन्यायाधीशको नियुक्तिका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यस बाहेक रिक्त रहेका संवैधानिक निकायका पदाधिकारी पनि नियुक्त हुन सक्ने जनाइएको छ । बिहीबार प्रधानमन्त्री ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपामाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको थियो । भेटमा संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको थियो ।
यस बाहेक निर्वाचन आयोगमा एक सदस्य रिक्त छ । यसै गरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा एक जना र समावेशी आयोगमा एक सदस्य रिक्त छ । राजनीतिक असहमति र शक्ति सन्तुलनको संघर्षका कारण नियुक्ति प्रक्रियामा ढिलाइ हुँदै आएको छ । बैठकले हालका वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउत प्रधानन्यायाधीशमा सिफारिस हुने सम्भावना छ ।
निर्वाचन आयोगमा रिक्त पदको नियुक्ति विवादित बनेको छ । यसअघि सिफारिस गरिएका कृष्णमान प्रधान यौनशोषण आरोपमा मुछिएका कारण सुनुवाइका क्रममा रोकिएका थिए ।















