sevenstartv.com १९ साउन २०८३, मङ्गलवार

बागमती प्रदेश सभाको बैठक असोज ६ गतेका लागि आह्वान

३१ भदौ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । बागमती प्रदेश सभाको बैठक असोज ६ गतेका लागि आह्वान गरिएको छ । बैठक दिउसो १ बजे बस्ने छ ।

गत १६ साउनमा विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेसँगै स्थगित भएको प्रदेशसभा बैठक डेढ महिनापछि बस्न लागेको हो । बैठकमा प्रदेशसभा अन्तर्गतका विभिन्न संसदीय समितिहरूबाट पारित भएका विधेयकका प्रतिवेदनहरू प्रस्तुत हुने कार्यसूची रहने प्रदेशसभा सचिवालयले जनाएको छ । 

बैठकको कार्यसूची तय गर्न ५ असोजमा कार्यसम्पादन समितिको बैठक आह्वान गरिएको छ । शनिवार दिउँसो ३ बजे बस्ने बैठकले संसद्को कार्यसूची तय गर्ने जनाइएको छ । ६ असोजमा बस्ने प्रदेशसभा बैठकमा शिक्षा स्वास्थ्य तथा कृषि समितिबाट पारित भएको दुई वटा र उद्योग पर्यटन तथा वातावरण समितिबाट पारित भएको प्रतिवेदन संसदमा प्रस्तुत हुनेछ । 

बागमती प्रदेश सभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा कृषि समितिबाट प्रदेश स्वास्थ्य ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन, प्रदेश कृषि विकास सम्बन्धमा बनेको विधेयकको प्रतिवेदन र उद्योग, पर्यटन तथा वातावरण समितिले प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन रहेका छन् ।

समितिहरूबाट दफावार छलफल गरी संशोधनसहित पारित भएका विधेयकका प्रतिवेदनहरू प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको र तीनै विधेयकका प्रतिवेदनहरूमाथि सदनमा छलफल हुने सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्