प्रतिनिधिसभामा सहकारी छानबिन समितिको प्रतिवेदन पेश
काठमाडौं । प्रतिनिधिसभामा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन पेश भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१ पेश गरेका हुन् ।
विभिन्न सहकारीहरूको बचत रकम अपचलन भएको भन्दै सो को छानबिन गर्न प्रतिनिधिसभाले थापाको संयोजकत्वमा २०८१ जेठ १५ गते ७ सदस्यीय छानबिन विशेष समिति गठन गरेको थियो। प्रतिवेदन प्रस्तुत गर्दै सभापति थापाले पार्टीभन्दा माथि उठेर छानबिन गरेको बताए। उनले छानबिन समितिमा रहेका पाँच पार्टीहरू एकैतिर फर्किएर छानबिन गरिएको बताए ।
उनले समितिले ६६ वटा बैठक गरेको र विभिन्न ४५१ जना व्यक्तिहरूसँग सुझावमुलक जानकारी र अन्तरक्रिया गरेको जानकारी दिए। सहकारी ठगीको आरोपित ४७ जना सहकारी सञ्चालक, गोर्खा मिडिया नेटवर्क प्रा.लि.का सञ्चालक तथा कर्मचारीसमेत ३ जना र नियामक निकायका ५ जना गरी जम्मा ५५ जनासँग सोधपुछ गरिएको उनले बताएका छन् । प्रतिवेदन सभामा पेश भएसँगै सभामुख देवराज घिमिरेले प्रतिवेदनको आवश्यक कार्यार्थ नेपाल सरकारलाई पठाउन सचिवालयलाई निर्देशन दिए ।
















