सबै राजनीतिक दलहरूलाई सरकारसँग सहकार्य गरेर अघि बढ्न मन्त्री पाण्डेकाे आग्रह
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे सबै राजनीतिक दलहरूलाई सरकारसँग सहकार्य गरेर अघि बढ्न आग्रह गरेका छन् ।
नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहेका मन्त्री पाण्डेले मुलुकमा विद्यमान सबै खालको जटिलता हटाउन दुई ठूलो पार्टीले सत्ता सहकार्य गरेकाले त्यसमा अन्य सबै राजनीतिक दलहरूले सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका हुन् ।
उनले सरकारले एकताको बाटोबाट मुलुकमा विद्यमान समस्या समाधान गर्न चाहेको पनि बताए । सबै दलहरूले एकताको बाटोबाट नेपाललाई एउटा स्थिर शासन पनि दिने, गतिशील अर्थतन्त्र प्रदान गर्ने दिशामा चाहेको मन्त्री पाण्डेको भनाइ छ ।
मन्त्री पाण्डेले भने‚ ‘नेकपा एमाले एक ठाउँमा उभिनुका पछाडि यो स्वभाविकता र सहजता छैन। तर हामीले देशको जुन अप्ठ्यारो र जटिलता देख्यौं। हामी एक ठाउँमा उभिन तयार भयौँ । एक ठाउँमा उभिएर हामी समाधान दिन चाहन्छौं । यसमा माओवादी‚ समाजवादी‚ लोसपा, जसपा, राप्रपा, रास्वपा सबैलाई जोडेर काम गर्न चाहन्छौं । हामी सबै मिलेर पहिले देश बचाऔं । देश बचाएपछि मात्रै हाम्रो राजनीति बच्छ । हाम्रो व्यवसाय बच्छ । सबै कुरा बच्छ ।’















