गौशाला धर्मशालाका विषायमा छलफल गर्न पशुपति कोष सञ्चालक परिषद्को बैठक आज बस्दै
काठमाडौं । पशुपति गौशाला धर्मशालाको विवादका बारेमा छलफल गर्न पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठक आज बस्दै छ । कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको आह्वानमा बैठक बस्न लागेको हो ।
काठमाडौं जिल्ला अदालतले श्रीपशुपतिनाथ अमालकोट कचहरी हाल पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबिच विसं २०६० मा भएको धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएपछि धर्मशाला पशुपतिनाथ मातहत ल्याउने प्रक्रियामा छ ।
कोषले काठमाडौं महानगरपालिकालाई धर्मशाला व्यवस्थापन गर्ने गरी सहमति गरेको थियो । त्यसअनुसार महानगरपालिकाले धर्मशाला प्रवेश गर्न खोज्दा मारवाडी समितिले रोकेर विरोध जनाउँदै आएको छ ।


















