sevenstartv.com २५ साउन २०८३, सोमवार

सशस्त्र प्रहरीलाई सीमाको ‘डेडिकेटेड फोर्स’ बनाउन मन्त्रालय लागिपरेको छ : गृहमन्त्री

१३ कार्तिक २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल नेपाललाई सीमाको 'डेडिकेटेड फोर्स’ बनाउन मन्त्रालय लागि परेको बताएका छन ।  आज सशस्त्र प्रहरी बल नेपालको निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् ।

उनले त्यसका लागि अन्ताराष्ट्रिय मापदण्डसहितको थप बिओपीको स्थापना गर्न लागिएको बताए ।गृहमन्त्री लेखकले हाल स्थापनारत बिओपीहरूको स्तर वृद्धि गर्दै समग्र संगठनलाई प्रविधिमैत्री एवं चलायमान बनाउनेतर्फ पनि मन्त्रालय प्रयासरत रहेको जानकारी गराएका छन् । उनले दीक्षित प्रहरीहरूलाई आफ्नो बौद्धिकता, योग्यता, क्षमता र इमान्दारीलाई सदैव सत्य र लोकहितको पक्षमा लगाएर काम गर्न आग्रह गरे ।

उनले सशस्त्र प्रहरी बल नेपालको कानून परिवर्तन गर्न लागिएको भन्दै यसले सशस्त्र प्रहरीलाई थप सबल, सक्षम र व्यावसायिक बनाउने विश्वास व्यक्त गरे ।
गृहमन्त्री लेखकले भने‚ ‘सशस्त्र प्रहरी बल, नेपाललाई सीमाको डेडिकेटेड फोर्स बनाउन मन्त्रालय लागि परेको छ। राष्ट्रिय सुरक्षाभित्र पर्ने सबै जिम्मेवारी हाम्रा साझा जिम्मेवारी हुन् ।’ उनले सशस्त्र प्रहरी बल नेपालको सेवालाई थप विशिष्टीकृत बनाइने भन्दै राष्ट्र सेवामा जोस र ऊर्जाका साथ लाग्न निर्देशन दिएका छन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्