सीमानामा हुने तस्करी तत्काल नियन्त्रण गर्न गृहमन्त्रीकाे निर्देशन
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सीमानामा हुने तस्करी तत्काल नियन्त्रण गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् ।
मंगलबार रुपन्देहीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले आफ्नो कार्य क्षेत्रमा गइसकेपछि अब फेरि सीमा क्षेत्रमा तस्करी भइरहेको र राजश्व चुहावट भइरहेको कुरा सुन्न नपर्ने गरी तस्करी नियन्त्रण गर्न निर्देशन दिएका हुन् ।
उनले यसबाटै प्रहरी कर्मचारीको कार्यदक्षता मूल्यांकन हुने उल्लेख गरे। उनले राजश्वमा तलमाथि हुने कुरा, तस्करी गर्ने कुरा, सिमानामा अपराधजन्य गतिविधि परिणाममुखी ढंगले नियन्त्रण गर्नुपर्ने बताए।
‘सिमानामा हुने तस्करी तुरुन्त तपाईंहरुले नियन्त्रण गर्नुहोला। मैले यो गोष्ठीपछि तपाईंहरु आफ्नो आफ्नो कार्यक्षेत्रमा गइसकेपछि सीमा क्षेत्रमा तस्करी भइराखेको छ, राजश्व चुहावट भइरहेको छ, उठ्नुपर्ने राजश्व उठिरहेको छैन भनेर सुन्न नपरोस्‚’ उनले भने, ‘तपाईंहरुको मूल्यांकन त्यसकै आधारमा गरिनेछ, मैले यो स्पष्ट भनेको छु। राजश्वमा तलमाथि हुने कुरा, तस्करी गर्ने कुरा, सिमानामा अपराधजन्य कामहरु हुने जुन कुराहरु छन्, यो परिणाममुखी ढंगले देखिनुपर्यो नियन्त्रणमा।’

















