सभापति देउवा र महामन्त्री थापासँग कुनै विवाद नरहेको कांग्रेस नेता कोइरालाको दाबी
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापासँग कुनै असमझदारी नभएको दाबी गरेका छन् ।
सुदूरपश्चिमका नेता तथा कार्यकर्ता भेटघाट गर्न शुक्रबार धनगढी पुगेका कोइरालाले सञ्चारकर्मीसँग कुराकानी गर्दै देउवा सबैको साझा सभापति भएको र थापासँग पनि कुनै विवाद नभएको जिकिर गरेका हुन् । तर आगामी १५ औं महाधिवेशनमा आफू सभापतिको स्वभाविक दाबेदार भएको उनको भनाइ छ । उनले महाअधिवेशन आउन एक वर्ष मात्र बाँकी रहेकाले आफू महाधिवेशनको तयारीमा लागेको समेत लागेको उल्लेख गरे ।
कोइरालाले महाधिवेशनसम्म एकताबद्ध भएर अघि बढ्ने पनि बताए । उनले अहिलेको सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । दुई ठूला दल मिलेर बनेको वर्तमान सरकार परिवर्तन हुने कुनै सम्भावना नभएकोले सरकारले राम्रो काम गर्नुपर्ने बताएका हुन् । सरकारलाई सफल पार्न लागिपरेको बताउँदै उनले जनपक्षीय काम गर्न सुझाए ।
०००

















