समितिका काम प्रभावकारी बनाउन क्यालेण्डर बनाउनुपर्ने सांसदहरुको माग
काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिमा कोरम नपुगेर बैठक नै स्थगित हुने स्थिति सिर्जना हुन थालेपछि सांसदहरुले क्यालेण्डर बनाउनुपर्ने माग गरेका छन् ।
मंगलबार बसेको बैठकमा सांसदहरुले सचिवालयले समयमै जानकारी नदिने र क्यालेण्डर नबनाइएकै कारण समिति बैठक प्रभावित भएको गुनासो गरे । बैठकमा नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले बैठकमा निर्णय गर्न आवश्यक सांसदको उपस्थिति नहुँदा समिति सदस्यहरु गैरजिम्मेवार जस्तो देखिएको बताएका हुन् ।
उनले संसद चलेपछि त्यहीअनुसारको क्यालेण्डर बनाएपनि त्यसअघिका लागि समितिको छुट्टै क्यालेण्डर बनाउनुपर्ने बताए । समितिको काम अनुगमन गर्ने र उजुरीहरु हेर्ने मात्र भएको समेत असन्तुष्टि व्यक्त गरे । उनले अनुगमनलाई बढी प्राथमिकता दिँदा समितिले गर्नुपर्ने मुख्य कामहरु गर्न नसकिरहेको बताएका छन् ।













