अध्यक्ष दाहालको प्रतिवेदनमा धारणा राख्न केन्द्रीय सदस्यलाई ३ मिनेट समय, फागुन १ गतेभित्र सम्पति विवरण बुझाउन सबै तहका नेतालाई प्रस्ताव
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको छ । धुम्बाराहीको दरबार ब्यांक्वेटमा सुरू भएको केन्द्रीय कमिटी बैठकमा आइतबार अध्यक्ष पुष्पकमल दाहालले ‘पार्टी रुपान्तरण र पुननिर्माणको संकल्पमा आजको आवश्यकता शीर्षकको प्रतिवेदन प्रस्तुत गरे ।
आजदेखि सोही प्रतिवेदनमा केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् । धारणा राख्नका लागि प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेटको समय तोकिएको छ । प्रतिवेदनमा अध्यक्ष दाहालले केन्द्रीयदेखि प्रदेश तहका नेताहरूले फागुन १ गतेभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने, विप्लव नेतृत्वको नेकपालगायत तीन कम्युनिष्ट पार्टीसँग एकताको पहल गर्नेलगायत पार्टीको सांगठानिक सुदृढीकरणका निम्ति विभिन्न प्रस्ताव उल्लेख गरेका छन् ।
अध्यक्ष दाहालले प्रतिवेदनमा राखेका विषयमाथि बैठकमा सहभागी हुने सबै केन्द्रीय सदस्यले धारणा राख्ने उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए । माओवादीको केन्द्रीय कमिटी बैठकमा ४०९ केन्द्रीय सदस्य, २०५ जना वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारी गरी १२५ जनाको समेत सहभागिता रहनेछ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन आमन्त्रित सदस्यका रूपमा बैठकमा सहभागी भएका थिए ।













