रविसहितको थुनछेक बहस सकियो, आजै आदेश आउन सक्ने
काठमाडौं । पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहितका सात प्रतिवादीहरूको सबै बहस सकिएको छ ।
बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले बहस गरेपछि बिहीबारका लागि सरकारी वकिलहरूको बहस बाँकी थियो । सरकारी वकिलले पनि बिहीबार दिउँसो १ बजे जवाफी बहस सकेपछि अब आदेश बाँकी भएको छ ।
न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीको थुनछेक बहस भएको थियो । प्रतिवादीका तर्फबाट कानुनी व्यवसायीको बहस सकिएपछि जवाफी बहस भएको थियो ।
लामिछानेसहित उक्त सहकारीको रकम अपचलन मुद्दामा जोडिएका पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल, मीना गुरुङ र अमृता गुरुङमाथि थुनछेक बहस सकिएको हो ।
थुनछेक बहस सकिएकाले अब न्यायाधीश राईको इजलासबाट प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश आउनेछ ।














