ताप्लेजुङमा बन्दको प्रभाव
काठमाडौं । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारबाट प्रहरीले बजार बन्द गराउँदै हिडेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पहिचानवादी मोर्चाको ताप्लेजुङ जिल्ला संयोजक ५२ वर्षीय प्रदीप मादेन रहेका छन् ।
मंगलबार बजार बन्द गराउँदै हिडेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार मादेन सोमबार भएको हुलहुज्तको घटनाका नेतृत्वकर्ता हुन् ।
सोमबार पाथिभरा क्षेत्रको बलुडाँडामा केबलकारको विरोधमा रहेको पहिचान पक्षधर र प्रहरीबीच दोहोरो झडप भएको थियो । सोही क्रममा प्रहरीले चलाएको गोली दुई जनालाई लगेको थियो ।
प्रहरीले दमन गरेको भन्दै केबलकारको विपक्षमा रहेको पहिचान पक्षधरले आजदेखि ताप्लेजुङ र प्रवेश नाकामा अनिश्चितकालिन बन्द घोषणा गरेको छ ।













