संविधानविपरीतका अभिव्यक्तिहरुको भण्डाफोर गर्न कार्यकर्तालाई अध्यक्ष दाहालकाे आह्वान
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ दलका नेताहरूले दिइरहेको संविधानविपरीतका अभिव्यक्तिहरुको भण्डाफोर गर्न कार्यकर्तालाई आह्वान गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले बलिदानका कारण प्राप्त राजनीतिक उपलब्धि उपभोग गरेर बलिदानीपूर्ण संघर्षमाथि नै धावा बोल्ने छुट कसैलाई नभएको उल्लेख गर्दै यस्ता प्रवृत्तिको भण्डाफोर गर्नुपर्ने बताएका हुन् ।
जनयुद्धलाई ‘हिंसा’को रुपमा व्याख्या गर्न थालिएको भन्दै आपत्ति जनाए । उनले भने, ‘जनयुद्धलाई संविधानले सशस्त्र संघर्ष भनेको छ तर संविधानको व्याख्यात्मक टिप्पणीमा स्पष्टसँगै सशस्त्र संघर्ष भनेर माओवादी जनयुद्धलाई बुझाउने छ भनेर लेखिएको छ, त्यसमा सबै दलहरूले हस्ताक्षर गरेका छन् । तर अहिले कतिपय सत्तारुढ दलका नेताहरूले जनयुद्धलाई हिंसा, हत्या, आतंक थियो भन्ने दुस्साहस गर्ने गरेका छन् ।’
उनले प्रधानमन्त्रीमै बसेका नेताले आफूले गरेको ठगी, बेइमानी र जालझेललाई ‘प्रचण्डलाई राउण्ड किक हानेको’ भनेर पनि बोलेको आफूले सुनेको उल्लेख गर्दै अब जनताको राउण्ड किक कस्तो हुन्छ, तिनले देख्ने बताए ।
















