sevenstartv.com १७ साउन २०८३, आइतवार

गोठाटारमा भीषण आगलागी, १४ पसल जले

१७ साउन २०८३, आइतवार स्टार संवाददाता

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ गोठाटारस्थित पहेँलो पुल नजिकै काठको गोदामसहित विभिन्न व्यवसाय सञ्चालन भएका सटरमा भीषण आगलागी हुँदा १४ वटा पसलमा क्षति पुगेको छ ।

प्रहरीका अनुसार काठको गोदामबाट विद्युत् सर्ट भई शनिबार राति करिब ९ः१५ बजे आगलागी सुरु भएको थियो । करिब दुई घण्टाको प्रयासपछि राति ११ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको हो ।आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय बासिन्दा परिचालन भएका थिए ।

आगो नियन्त्रणमा लिन ९ वटा दमकल र ३ वटा पानी ट्याङ्कर प्रयोग गरिएको प्रहरी वृत्त बौद्धले जनाएको छ ।

आगलागी नियन्त्रणका क्रममा कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारका ३७ वर्षीय नरेश थापा घाइते भएका छन् । टहराको जस्तापाताबाट खसेर घाइते भएका थापाको नगर अस्पताल मूलपानीमा प्राथमिक उपचारपछि थप उपचारका लागि सुन्धारास्थित राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ । उनको अवस्था मध्यम रहेको र बाहिरी चोटपटक नदेखिएको प्रहरीले जनाएको छ ।

आगलागीबाट ओम काष्ठ मिल उद्योग, रिकन्डिसन तथा हेल्मेट पसल, बासु फर्निचर, घिसिङ अटो रिकन्डिसन, रङ पसल, प्रेम गौतम रिकन्डिसन, मोबाइल पसल, हार्डवेयर, मिठाई, चिया, फर्निचर, चटपटे तथा किराना, कस्मेटिक र स्टेशनरी पसलमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

आगलागीबाट भएको क्षतिको यकिन विवरण भने मुचुल्का संकलन तथा थप अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्