राखेप बोर्डमा पूर्वखेलाडीको वर्चश्व
काठमाडौं -राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्डमा पहिलोपटक पूर्वखेलाडीको वर्चश्व देखिएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पछिल्लोपटक धनीराम चौधरी र ललिता नाथलाई बोर्ड सदस्यमा मनोनयन गरेसँगै पूर्वखेलाडीको उपस्थिति थप बलियो बनेको हो ।
राष्ट्रिय खेलकुद विकास ऐनबमोजिम रिक्त सदस्य पदमा मन्त्री पोखरेलले मन्त्रीस्तरीय निर्णयबाट चौधरी र नाथलाई मनोनयन गर्नुभएको हो ।
नवनियुक्त सदस्य धनीराम चौधरी हाल प्रशिक्षकका रूपमा कार्यरत हुनुहुन्छ । उहाँ पूर्वराष्ट्रिय धावकसमेत हुनुहुन्छ । चौधरीले ४०० र ८०० मिटर दौडमा राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको थियो । त्यस्तै, ललिता नाथ पूर्वराष्ट्रिय भलिबल खेलाडी हुनुहुन्छ । उहाँ पछिल्लो समय कर्णाली यश्विस टोलीमा आबद्ध हुनुहुन्थ्यो ।
राखेपको उपाध्यक्षमा पूर्वफुटबल खेलाडी विशाल श्रेष्ठ हुनुहुन्छ । उहाँ गोलकिपरका रूपमा फुटबल खेल्नुभएको थियो । त्यस्तै, बोर्ड सदस्य सिक्का सुवाल श्रेष्ठ पनि पूर्वटेबल टेनिस खेलाडी हुनुहुन्छ । उहाँ विश्व महिला टेबल टेनिस वरियतामा ५१०औँ स्थानसम्म पुग्नुभएको थियो । उहाँ स्टयाग ग्लोबल च्याम्पियन लिग–२०८० को विजेतासमेत हुनुहुन्छ ।
बोर्ड सदस्य शक्ति गौचन पूर्वक्रिकेटर तथा प्रशिक्षक हुनुहुन्छ । नेपाली क्रिकेटको विकासमा उहाँको महत्वपूर्ण योगदान रहेको छ । त्यस्तै, बोर्ड सदस्य मोनालिसा खम्बु पूर्वचेस खेलाडी हुनुहुन्छ । उहाँ बुद्धिचालमा परिचित खेलाडी हुनुका साथै सन् २००६ मा एसियन गेम्सको छनोटमा पर्नुभएको थियो । नेपालबाट अन्तर्राष्ट्रियस्तरमा महिला चेस खेलाडीका रूपमा सहभागी हुने उहाँ पहिलो पुस्ताका खेलाडीमध्ये एक हुनुहुन्छ । उहाँ नेपाली महिला खेलाडीमध्ये १ हजार ८७७ रेटिङसहित उच्च रेटिङ बनाउने खेलाडीसमेत हुनुहुन्छ ।
पूर्वफुटबल खेलाडी पवन शाही पनि राखेप बोर्ड सदस्य हुनुहुन्छ ।
पछिल्ला मनोनयनसँगै राखेपको नीति निर्माण गर्ने बोर्डमा विभिन्न खेलका पूर्वखेलाडीको संख्या बढेको छ । खेल क्षेत्रमै लामो समय अनुभव हासिल गरेका व्यक्तिहरूको सहभागिताले खेलकुदसम्बन्धी नीति, योजना तथा कार्यक्रम निर्माणमा व्यावहारिक अनुभव उपयोग हुने अपेक्षा गरिएको छ ।













