बेलायतमा अनुसन्धानमा सक्रिय डा.प्रार्थना सुवेदीको प्रेरणादायी यात्रा
धेरै युवाका लागि प्रेरणाको स्रोत हुन् प्रार्थना
६ वटा गोल्ड मेडल जितेर नेपाली चिकित्सक डा. प्रार्थना सुवेदीले असाधारण सफलता हासिल गरेकी छन्। तर, यो सफलता उनका लागि खुसीसँगै गहिरो पीडाको पनि कथा बनेको छ। चिकित्सक बनोस् भन्ने बुवाको सपना पूरा भए पनि क्यान्सरका कारण बुवाले छोरीको सफलता आफ्नै आँखाले देख्न पाएनन्।

अहिले बेलायतमा अनुसन्धानमा सक्रिय डा. सुवेदीको प्रेरणादायी यात्रा।
एमबीबीएसमा ६ विधामा सर्वोत्कृष्ट हुँदै ६ वटा गोल्ड मेडल...

तर, त्यो खुसीको खबर सुन्दा डा. प्रार्थना सुवेदीका आँखाबाट आँसु रोकिएन।
बेलायत पुगेको चार महिनापछि आएको एउटा सन्देशले उनलाई भावुक बनायो।
“दिदी, तपाईंले एमबीबीएसमा ६ वटा गोल्ड मेडल पाउनुभएको छ।”
यो केवल शैक्षिक सफलता थिएन, यो थियो दिवंगत बुवाको सपना पूरा भएको क्षण।
२०७९ सालमा नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस पूरा गरेकी प्रार्थना ६ विधामा उत्कृष्ट ठहरिइन्। अहिले उनी अक्सफोर्ड विश्वविद्यालयको क्लिनिकल रिसर्च टिममा कार्यरत छिन्।

बाल्यकालमै परिवारका सदस्यलाई क्यान्सरले गुमाउनु र अस्पतालका अनुभवले उनलाई चिकित्सक बन्न प्रेरित ग¥यो।
कक्षा १२ पछि उनले एमबीबीएस अध्ययन सुरु गरिन्। बिहान ४ बजेदेखि नियमित अध्ययन गर्ने बानी र निरन्तर मेहनतले उनलाई उत्कृष्ट विद्यार्थी बनायो।
तर, एमबीबीएस पूरा गर्ने क्रममा अर्को ठूलो परीक्षा आयो।
उनका बुवामा स्टेज–४ क्यान्सर पुष्टि भयो।
इन्टर्नसिपको व्यस्तताबीच उनले दुई महिनाको ब्रेक लिएर बुवाको उपचार र हेरचाहमा समय बिताइन्।
मेडिकल अफिसरका रूपमा काम सुरु गरेको केही महिनामै क्यान्सरका कारण बुवाको निधन भयो।
विश्वविद्यालयमा पहिलो भएको खबर बुवाले थाहा पाए पनि छोरीले जितेका ६ वटा गोल्ड मेडल भने उनले देख्न पाएनन्।
बुवाको निधनपछि केही समय नेपालमै अनुसन्धानमा काम गरेकी प्रार्थना अहिले बेलायतमा न्युरोसर्जरी र ब्रेन ट्युमरसम्बन्धी अनुसन्धानमा सक्रिय छिन्।

उनको लक्ष्य स्पष्ट छ उच्च अध्ययन र अनुसन्धानपछि नेपाल फर्किएर देशको स्वास्थ्य सेवामा योगदान गर्ने।
मेहनत, समर्पण र पारिवारिक प्रेरणाले सफलता सम्भव हुन्छ भन्ने उदाहरण बनेकी डा. प्रार्थना सुवेदीको कथा धेरै युवाका लागि प्रेरणाको स्रोत बनेको छ।




















