तथ्य र तर्कका आधारमा राजनीतिक धारणा बनाउन युवालाई पुर्वराष्ट्रपति भण्डारीको सुझाव
काठमाडाैं - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवालाई आग्रह गर्नुभएको छ ।
मदन भण्डारी आइडोलोजी स्टुडेण्ट फोरमले आईतवार आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले अध्ययन, संवाद र बहसबाट आफ्नो राजनीतिक धारणा निर्माण गर्न आग्रह गर्नुभएको हो । उहाँले आफूभन्दा भिन्न विचार राख्नेहरुलाई पनि सम्मान गर्न युवालाई आग्रह गर्नुभयो । लोकतन्त्रको शक्ति आफूले राखेको विचार मात्र स्थापित गर्नुमा नभई फरक मतलाई सम्मानपूर्वक सुन्ने र तर्क तथा तथ्यका आधारमा दृष्टिकोण निर्माण गर्ने संस्कारमा रहेको उहाँको भनाई छ ।
उहाँले सामाजिक सञ्जाल, सूचना प्रविधि र विश्वव्यापी सम्पर्कका कारण आजको पुस्ता विगतका पुस्ताभन्दा बढी सूचनासम्पन्न भएको बताउनु भयो । तर धेरै सूचना हुनु र सही ज्ञान हुनु फरक विषय भएको उहाँको भनाई छ । सूचनालाई तथ्यसँग, भावनालाई विवेकसँग र आलोचनालाई रचनात्मकतासँग जोड्ने क्षमता युवाका लागि आवश्यक रहेको उहाँको भनाई छ । उहाँले राजनीतिमा युवाको सहभागिता पनि अपरिहार्य रहेको बताउनुभयो ।
निर्वाचनका समयमा मत माग्ने वा दिने कार्यमा मात्र युवालाई सिमित गर्न नहुने उहाँको भनाई छ । समाज बुझ्ने, जनताको आवाज सुन्ने, नीति निर्माणमा भुमिका खोज्ने तथा देशको विकास र परिवर्तनमा रचनात्मक योगदान गर्ने निरन्तर प्रक्रियाका रूपमा युवाको राजनीतिक सहभागिता अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले मदन भण्डारीका विचारलाई नयाँ पुस्ताले समय र बदलिँदो सामाजिक परिवेशसँग जोडेर अध्ययन तथा आत्मसात गर्नुपर्ने पनि बताउनु भयो । लोकतन्त्रलाई थप प्रभावकारी र जनमुखी बनाउने, राज्यका संस्थालाई जवाफदेही तथा सक्षम बनाउने, राजनीतिमा युवाको सहभागिता र विश्वास बढाउने तथा शिक्षा र रोजगारीका अवसर विस्तार गर्ने विषयमा युवाले गम्भीर बहस गर्नुपर्ने उहाँको भनाई छ ।
देशमा परिवर्तनका अपेक्षा उच्च रहेको र युवामा नयाँ सोच तथा केही नयाँ गर्ने ऊर्जा रहेको उल्लेख गर्दै उहाँले उक्त ऊर्जा र उत्साहलाई देश तथा समाजको सकारात्मक परिवर्तनमा रूपान्तरण गर्र्नुपर्नेमा जोड दिनुभयो । उहाँले युवालाई लोकतन्त्रप्रति प्रतिबद्ध, सामाजिक न्यायप्रति संवेदनशील, राष्ट्रिय हितप्रति सचेत, अध्ययनशील र जिम्मेवार नागरिक बन्न आग्रह गर्नुभयो । नयाँ पुस्ताले नै देशको सुदृढ र उज्ज्वल भविष्य निर्माण गर्ने उहाँको भनाई छ ।




















