प्रधानमन्त्रीले दिए मन्त्रीहरुलाई निर्देशन : तपाईहरुलाई विश्राम र ढिलो गर्ने छुट छैन, काममा तीव्रता दिनुस्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई विश्राम गर्ने सुविधा नरहेको भन्दै तिब्रताका साथ सरकारका काम कारबाही अघि बढाउन मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।
बिहीवार सिंहदरबारमा उपप्रधानमन्त्री तथा मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै उनले मन्त्रीहरुलाई सो निर्देशन दिएका हुन् । उनले मन्त्रीहरुलाई विश्राम गर्ने, अलमल गर्ने, ढिलो गर्ने छुट नरहेको बताए ।
उनले अब कार्यक्षेत्रमा थप योजना र थप सक्रियताका साथ अघि बढ्नुपर्ने बताए । उनले सरकारका कामलाई तिब्रता दिनेगरी अघि बढ्न आग्रह गरे ।
उनले बिस्तारै गरौंला नि भन्ने सोचले अहिलेसम्म काम हुन नसकेको भन्दै अब त्यो सोच नराख्न आग्रह गरे । उनले काममा तिब्रतासँगै योजनावद्धता आवश्यक रहेको बताए ।
मन्त्रालयबीच एक अर्कालाई सहयोग गर्ने भावना हुन जरुरी रहेको बताए । प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई आ-आफ्नो मन्त्रालयका समस्या पहिचान गरी समाधान गर्न पनि निर्देशन दिए ।













