प्रस्तावित राजदूतबारे निर्णय गर्न बस्न लागेको संसदीय सुनुवाइ समितिको बैठक स्थगित
काठमाडौँ । १७ देशका लागि प्रस्तावित राजदूतहरूको अनुमोदनबारे निर्णय गर्न आइतबार बस्ने भनिएको बैठक स्थगित भएको छ ।
विभिन्न १७ देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ सकिएको छ । उनीहरूबारे निर्णय गर्नका लागि बस्ने भनिएको बैठक बस्दै नबसी स्थगित भएको हो ।
समिति सदस्यहरूको व्यस्तताका कारण बैठक स्थगित भएको समिति सचिवालयले जनाएको छ । सरकारले गत साउन १४ गते डा. शंकर शर्मा भारत, प्राडा कृष्णप्रसाद ओली चीन, लोकदर्शन रेग्मी संयुक्त राज्य अमेरिका, चन्द्रकुमार घिमिरे संयुक्त अधिराज्य, डा. शिवमाया तुम्बाहाङ्फे दक्षिण कोरिया, प्रा. धनप्रसाद पण्डित इजरायल, रामकृष्ण भट्टराई श्रीलंका र रीता धिताललाई पाकिस्तानका निम्ति आवासीय नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।
यसैगरी सरकारले नरेशविक्रम ढकाल साउदी अरेबिया, प्राडा कपिलमान श्रेष्ठ दक्षिण अफ्रिका, सनिल नेपाल स्पेन, डा. शैल रुपाखेती जर्मनी, जंगबहादुर चौहान रुसी महासंघ, रमेशचन्द्र पौडेल कतार, सुम्निमा तुलाधर डेनमार्क, डा. नेत्रप्रसाद तिमिल्सिना मलेसिया र प्रकाशमणि पोखरेल पोर्चुगललाई सिफारिस गरेको थियो ।
नेपालको संविधानको धारा, २९२ अनुसार राजदूत पदमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।













