sevenstartv.com १८ साउन २०८३, सोमवार

आजका प्रमुख सात समाचार

१८ भदौ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं ।

एमाले पोलिटब्युरो

सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)ले पार्टीले बुझाएको ध्यानाकर्षण पत्र कार्यान्वयनका लागि सरकारलाई दबाब दिने भएको छ ।

मंगलवारबाट पार्टी मुख्यालय च्यासलमा शुुरु भएको पार्टी पोलिटब्युरो बैठकमा महासचिव शंकर पोखरेलले पेश गर्नुभएको वार्षिक कार्ययोजनामा सो विषयमा पहलकदमी लिने उल्लेख गरिएको हो । 

पार्टीले २०८१ साल साउन ४ गते सरकारलाई बुझाएको ध्यानाकर्षण पत्र, त्यसपछि झुलाघाट–चिवाभञ्ज्याङका लागि संकल्प यात्राका क्रममा प्राप्त भएका र तत्कालीन सरकारलाई बुझाइएको विषयहरुको कार्यान्वयनमा निरन्तर पहल गर्नका लागि प्राथमिकता दिने कुरालाई महासचिव पोखरेलद्वारा प्रस्तुत वार्षिक कार्ययोजनामा विशेष जोड दिइएको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्दप्रसाद गौतमले जानकारी दिए

त्यसैगरी कार्ययोजनामा कम्युनिष्ट पार्टीहरुको अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्ने, पार्टीको युवा परिचालन नीतिलाई प्रभावकारी रुपमा अघि बढाउने, पार्टी मुख्यालय भवन निर्माणका लागि समिति बनाएर त्यस कामलाई अघि बढाउने, पार्टी कमिटीको नै मूल्यांकन विधिलाई अघि बढाउनेलगायतका एजेण्डाहरु समावेश गरिएको छ । सरकारले गरेका राष्ट्रिय हित र जनसरोकारका विषयहरुलाई जनतामा स्थापित हुने गरी लैजाने विषयलाई पनि पार्टीले जोड दिएको प्रचार विभाग प्रमुख गौतमले बताए ।

एमाले पोलिटब्युरो बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा महासचिव पोखरेलको वार्षिक कार्ययोजनामाथि छलफल हुनेछ । विभागका प्रमुख गौतमले सो बैठकले समसामयिक परिस्थितिबारे पनि ठोस प्रस्ताव पारित गर्ने बताए 

माओवादी केन्द्र

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले सरकारविरुद्ध संघर्ष गर्ने तयारी भइरहेको बताएको छ ।

पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले भ्रष्टाचार नियन्त्रण, लोकतन्त्र र जनजीविकाको सवालमा आफ्नो पार्टी नेतृत्वको सरकारले चालेका कदम उल्ट्याउने काममा सरकार लागि परेको जिकिर गर्दै त्यसका विरुद्ध सदन र संघर्ष दुवै संघर्षलाई चर्काउने तयारीमा आफूहरु रहेको बताए । 

मंगलबार पार्टीको निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता सापकोटाले सरकार र सत्तारुढ दलका नेताहरुविरुद्ध जनमत उर्लेको भन्दै आफ्नो पार्टीले प्रतिरोध गरेर अघि बढ्ने बताए । उनले संविधान संशोधनको नाममा दुई दल सम्मिलित सरकारले जनताको अधिकार खोज्ने चेष्टा गरेकाले त्यसको विरुद्ध जमेर प्रतिवाद गर्ने नीति पार्टीले लिएको पनि बताए ।

एमसीसीमा नेताहरु

नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले एमसिसी परियोजनामा सैन्य रणनीति जोडिएको छैन भन्नसक्ने स्थिति अझै नरहेको बताएका छन् । 

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कतिपय क्षेप्यास्त्रहरु विद्युतबाट चार्ज गर्ने प्रकारको मोडालिटी पनि विकास भएको बताए । उनले होनुरुल भन्ने समुन्द्री हवाई टापुमा अमेरिकी सेना क्याम्प रहेको र त्यहाँ थुप्रै हातहतियार उत्पादन गर्ने क्रममा एउटा क्षेप्यास्त्र उत्पादन गरेको बताए । उनले सो क्षेप्यास्त्रलाई चार्ज गर्न ४ सय केबी भोल्टेज विद्युत चाहिने बताए । उक्त क्षेप्यास्त्र पानीभित्र पनि लुकाएर राख्ने भएकाले नेपालका सजग हुनुपर्ने बताए । 

यस्तै, नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले एमसिसी परियोजनाको अनुगमनका लागि संसदीय समिति बनाउन माग गरेका छन् । 

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी तत्काल एमसिसी अनुगमनको लागि एउटा संसदीय समिति बनाउनुपर्ने पक्षमा रहेको बताए । उनले एमसिसी परियोजना १२ बुँदे व्याख्यात्मक टिप्पणीअनुसार लागू भइरहेको छ वा छैन भनेर अनुगमन गरी नागरिकलाई जानकारी गराउनुपर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले अमेरिकी अनुदान सहयोगसम्बन्धि सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनालाई नेपालको मातहत ल्याउने गरी कानून बनाउन सरकारसँग माग गरेका छन् । 

नेपाललाई नवऔपनिवेशिक बनाउने उद्देश्यसहितको सो परियोजनालाई नेपालको संसदले स्वीकार गरेकोको उल्लेख गर्दै अब सरकारले त्यसलाई सम्पूर्ण रुपले नेपाल मातहत ल्याउनेगरी कानून बनाउनुपर्ने माग उनले गरेका हुन् । 

मंगलबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव विप्लवले एमसीसीको परिचालन, अनुगमन र नियन्त्रण सम्पूर्ण रुपमा गर्नेगरी संसदले कानून बनाउनुपर्ने आफ्नो पार्टीको मान्यता रहेको पनि स्पष्ट पारे । एमसीसी नेपालको हितमा नभएपनि त्यसलाई तत्काल खारेज गर्ने सम्भावना नभएको जिकिर गर्दै महासचिव विप्लवले त्यसलाई कानूनद्वारा नियन्त्रण गर्न नेपालले पहल गर्नुपर्ने बताए ।

सहकारी समिति

सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको कार्यावधि १५ दिन थप भएको छ ।

मंगलवार बसेको प्रतिनिधिसभाको बैठकमा समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले हालसम्म गरेका कार्यप्रगतिबारे जानकारी गराएका थिए । 

समितिलाई तीन महिनाको समय दिएर जेठ १५ गते थापाको सभापतित्वमा ७ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । तर तीन महिनामा काम नसकेपछि सभापति थापाले समितिले १५ दिनका लागि म्याद थप गर्न प्रतिनिधिसभा बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए । 

प्रस्तुत प्रस्तावलाई समितिले सर्वसम्मत स्वीकृत भएको सभामुख देवराज घिमिरेले घोषणा गरे । 

परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको तयारी शुरु गरेको जानकारी दिएकी छन् । 

आफूले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपालको राजकीय भ्रमणको निमन्त्रणा पत्र भारतीय प्रधानमन्त्री मोदीलाई दिएको र उनले त्यसको तयारीका लागि सम्बन्धित निकायलाई तत्कालै निर्देशन दिएको बताइन् । परराष्ट्रमन्त्री देउवाले आफूले भारतीय प्रधानमन्त्री मोदीसँगको शिष्टाचार भेटमा दुई मुलुकबीचको आपसी सम्बन्धलाई अझै उचाईमा पु¥याउने विषयमा जोड दिएको पनि स्पष्ट पारिन् । 

यस्तै मन्त्री देउवाले देउवाले राजदुत सिफारिस समावेशी नभएकोमा माफी मागेकी छन् । संसदीय समितिको बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनले एउटा राजदुत पद खाली भएको र त्यसमा मधेशी समुदायलाई प्रतिनिधित्व गराउने विषयमा आफूले प्रयास गरिरहेको पनि बताइन् । 

बालेन सुनिता

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले मेयर बालेन्द्र शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाएकी छन् । 

महानगरको ३५ औं नगर कार्यपालिका बैठकमा काठमाडौं नदी किनारका दुवैतर्फ थप २० मिटरको मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसलापछि महानगरले सूचना जारी गरेको सूचनालाई लिएर असन्तुष्टि जनाएकी हुन्  । उक्त सूचनाले जनता आतंकित र त्रसित भएको भन्दै महानगरका हरेक निर्णयमा जनप्रतिनिधिहरूमा अपनत्व हुनुपर्नेमा जोड उनको जोड थियो ।

एन्फा लिग

एन्फा महिला लिग अन्तरगत मंगलाबार भएको पहिलो खेलमा कर्णाली प्रदेश र चन्द्रपुर नगरपालिकाले बराबरी खेलेका छन् ।

एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा सुरुवाती अग्रता लिएको कर्णालीलाई १—१ को बराबरीमा रोक्दै चन्द्रपुरले अंक बाँडेको छ । 

कर्णालीका लागि सातौ मिनेटमा सुनकला राईले गोल गरेकी थिइन् । तर, रजनी थोकर गोल फर्काउन सफल भइन् । चन्द्रपुरले पहिलो हाफको इन्जुरी समयमा गोल गरेको थियो । यस्ते एपीएफ र पुलिस क्लबले पनि अंक बाँडेका छन् । वर्षाका कारण केही समय ढिला सुरु भएको खेलमा कुनै पनि टोलीले गोल गर्न सकेनन् । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्