निर्माणाधिन संसद भवनको काम अझै डेढ वर्ष सकिएला जस्तो छैनः सभामुख घिमिरे
काठमाडौं । सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित निर्माणाधिन नयाँ संसद भवनको काम सकिन अझै डेढ वर्ष लाग्ने देखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
आगामी चैत्र २० गतेसम्म निर्माण सकिसक्नुपर्ने सम्झौता रहेको भएपनि समयावधि भित्रै सक्नेगरी काम हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
बिहीवार निर्माणाधिन नयाँ संसद भवनको निरीक्षण अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख घिमिरेले सात महिना भित्रमा बाहिरको भौतिक पूर्वाधारसम्म बनाउनसके पनि भित्रका फिनिसिङका कुराहरु सम्पन्न गर्न समयावधि पछिका ७ महिना जति लाग्ने देखिएको उल्लेख गरे ।
उनले अझै डेढ वर्ष भन्दा अगाडि नयाँ संसद भवनबाट काम गर्न सकिने अवस्था नरहेको भन्दै छिटो काम सम्पन्न गर्न आग्रह गरे । निर्माणका लागि कुनै जटिलताहरु भए सरकारसँग छलफल गरी समाधान गर्न पनि आग्रह गरे ।
शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले असार मसान्तसम्म भौतिक प्रगति मूल्यांकन ८१ प्रतिशत रहेको बताए ।














