शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन : २३ जना विद्यार्थी पक्राउ
काठमाडाैँ । त्रिभूवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवसका अवसरमा आयोजित विशेष समारोहमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलविरुद्ध विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् । पोख्रेलविरुद्ध प्रदर्शन गर्ने २३ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विश्वविद्यालयका सहकुलपति एवं विश्वविद्यालय सभाका उपाध्यक्षसमेत रहेका मन्त्री पोखरेल कार्यक्रममा सहभागी हुन पुग्दा विद्यार्थी समूहले नाराबाजीसहित विरोध प्रदर्शन गरेको हो । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गरेको भन्दै असन्तुष्ट विद्यार्थीले मन्त्री पोखरेलविरुद्ध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा उनीहरूले ‘मेरिटोक्रेसी लागू गर’ र ‘नेपोबेबी शिक्षामन्त्री’ जस्ता नारा अंकित प्लेकार्डहरू प्रदर्शन गरेका थिए । विश्वविद्यालय परिसरमा असहज परिस्थिति सिर्जना भएपछि सुरक्षामा खटिएको प्रहरी टोलीले प्रदर्शनरत विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरूमा त्रिभुवन विश्वविद्यालय स्ववियु उपसभापति सनम वली, त्रिवि स्ववियु सचिव हिक्मतकुमार बुढा, शंकरदेव क्याम्पसका अखिल संयोजक दिनेश रेग्मी, कुलबहादुर बुढा, डम्बरसिङ ऐरी, प्रकाश सन्जेल लगायत रहेका छन् ।
















