अनशनरत गोविन्द केसीको सेती अस्पताल उपचार हुँदै
अनशनस्थल नजिकै लाग्यो ‘गो ब्याक’ को नारा
धनगढी । बिहीबारदेखि पाँचबुँदे माग राख्दै २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गर्ने तयारी थालएिको छ ।
कृष्ण मन्दिर धर्मशालाको २११ नम्बर कोठामा अनशनरत बस्न पुगेका डा. केसीको स्वास्थ्य अवस्था थप कमजोर बन्दै गए पछि चिकित्सकहरू थप उपचारका लागि सेती अस्पताल पठाउने निणय गरेको बताएका छन् ।
परीक्षणका क्रममा उनको रक्तचापमा समस्या, सुगरको समस्या देखिएको छ। सुगरको मात्रा अत्यन्त न्यून भएपछि तत्काल उपचार आवश्यक रहेको चिकित्सकहरूको भनाइ छ । डा. केसीका सहयोगी डा. अमृत जैसीका अनुसार स्वास्थ्य अवस्था बिग्रँदै जाँदा मांसपेशी बाउडिने, बोल्न असहज हुने तथा हिँडडुल गर्नसमेत कठिन भएको छ ।
चिकित्सकहरूले तत्काल सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरी उपचार गर्न सुझाव दिएका छन् । सोहीअनुसार डा. केसीलाई अस्पताल लैजाने तयारी भइरहेको उनका सहयोगीहरूले बताएका छन् ।
२४औँ सत्याग्रहमा रहेका डा के. सी विरुद्व कृष्ण मन्दिर धर्मशालाबाहिर गोविन्द केसी गो ब्याक’ को नारा सहित विरोध सुरु भएको छ । डा. केसीले थालेको सत्याग्रह फिर्ता लिन शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले आग्रह गरेका छन् ।




















