sevenstartv.com १६ साउन २०८३, शनिवार

पार्टीभित्रको निराशा चिर्न र नीतिगत स्पष्टताका लागि राष्ट्रिय भेला : डा. शशांक कोइराला

१६ साउन २०८३, शनिवार स्टार संवाददाता

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले मुलुकको विद्यमान राजनीतिक अस्थिरता र पार्टीभित्रको आन्तरिक चुनौती सम्बोधन गर्न साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्न लागिएको बताएका छन्।

शनिबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले पार्टीलाई वैचारिक र सांगठनिक रूपमा नयाँ गति दिन ५ सय ५१ सदस्यीय आयोजक समितिको संयोजनमा भेला बोलाइएको स्पष्ट पारे। 

नेपाली राजनीति विगत एक वर्षदेखि अनिश्चितता र हिंसाको भुमरीमा रुमल्लिएको उल्लेख गर्दै उनले यसको प्रत्यक्ष असर नेपाली कांग्रेसमा परेको जनाए। २०८२ भदौ २४ गतेको हिंसात्मक घटनामा पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि भएको सांघातिक आक्रमण तथा पार्टी कार्यालयहरूमा भएको तोडफोडका कारण उत्पन्न त्रासदीपूर्ण अवस्थाको स्मरण गर्दै उनले त्यस्तो संकटका बेला एकताको आवश्यकता रहे पनि त्यसो हुन नसकेको बताए। 

देशको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै कोइरालाले पछिल्लो समय नागरिक स्वतन्त्रता र मानव अधिकार संकुचित हुँदै गएको तथा लोकतान्त्रिक संविधानमाथि प्रहार भइरहेको टिप्पणी गरे। साथै, सुनसरीको देवानगञ्जबाट सुरु भई मधेशका विभिन्न क्षेत्रमा फैलिएको साम्प्रदायिक हिंसाप्रति दुःख व्यक्त गर्दै उनले मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेहरूको उचित उपचारको माग गरे।

नले भने, ‘पार्टीको विधानबमोजिम कार्यकाल थप गर्नुपर्ने विषम परिस्थितिमा अप्रत्याशित रूपमा विशेष महाधिवेशनको प्रसङ्ग उठाइँदा आन्तरिक मतभेद बढ्यो, जसका कारण निर्वाचनमा पार्टीले सोचेजस्तो परिणाम ल्याउन सकेन।’ धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नै राष्ट्रिय एकताको आधार भएको उल्लेख गर्दै उनले यसलाई कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए।

पार्टीभित्रको निराशा चिर्न र नीतिगत स्पष्टता कायम गर्न आयोजना गरिएको यस राष्ट्रिय भेलामा वर्तमान तथा पूर्व पदाधिकारी, सांसद, प्रदेश तथा जिल्ला सभापति, भ्रातृ संगठनका प्रतिनिधि र लोकतान्त्रिक आन्दोलनका बुद्धिजीवीलाई निमन्त्रणा गरिएको छ। पार्टीका अर्का नेता डा. शेखर कोइरालाको सन्दर्भमा सोधिएको प्रश्नमा उनले शेखरको यस अभियानमा पूर्ण समर्थन रहेको र व्यस्तताका कारण उपस्थित हुन नसके पनि ऐक्यबद्धता जनाएको जानकारी दिए। राजनीतिक स्थिरता, सामाजिक सद्भाव र राष्ट्रिय शक्तिहरूबीचको सहकार्य नै आजको मुख्य आवश्यकता रहेको कोइरालाको भनाइ छ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्