सरकार कूटनीतिक रूपमा असफल भएको कांग्रेसको आरोप
काठमाडौँ -प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बालेन्द्र शाह नेतृत्वको सरकार कूटनीतिक रूपमा असफल भएको र संवैधानिक निकायका काममा कानुन विपरीत हस्तक्षेप गरेको बताएको छ ।
पार्टीका प्रवक्ता देवराज चालिसेले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै सरकारले सांसदहरूलाई कानुनभन्दा माथि राख्न खोजेको र संवैधानिक निकायहरूलाई दबाबमा पारेको आरोप लगाए ।
प्रवक्ता चालिसेले नियमावलीमार्फत सांसदहरूलाई अन्य कानुनभन्दा माथि बनाउने प्रयास भइरहेको भन्दै त्यसको विरोध गरे । उनले सुशासनका लागि सार्वजनिक पदमा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने माग गरे । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकायलाई राजनीतिक दबाबमा राखेर सरकारले भ्रष्टाचार लुकाउन खोज्दैछ,’ उनले भने । यस्तै, अदालतबाट निर्णय दिने व्यक्तिलाई तत्काल सम्मान वा पुरस्कार दिनुले नैतिक प्रश्न उठ्ने भन्दै उनले न्यायपालिकाको गरिमा जोगाउन आग्रह गरे ।
सरकारको परराष्ट्र नीतिको आलोचना गर्दै चालिसेले कूटनीतिक अभ्यासमा सरकार चरम अपरिपक्व देखिएको बताए । ‘विकल्प नदिई विदेशस्थित राजदूतहरूलाई फिर्ता बोलाउनु र लामो समयसम्म अर्को नियुक्ति गर्न नसक्नु कूटनीतिक असक्षमता हो,’ चालिसेले भने, ‘सरकारका जिम्मेवार व्यक्तिहरूबाट छिमेकी मुलुकका सम्बन्धमा अस्वाभाविक टिप्पणी हुनुले मुलुकको छवि बिगारेको छ।’
चालिसेले गृहमन्त्री जोडिएको प्रकरणमा सरकारको छानबिन प्रक्रिया शंकास्पद रहेको बताए । हतार–हतार छानबिन समिति बनाउने तर त्यसको प्रतिवेदन सार्वजनिक नहुँदै पुनः नियुक्ति गरिनुले सरकारको नियतमा खोट देखिएको उनको तर्क थियो । उनले सरकारका सबै नियुक्ति र निर्णयहरू पारदर्शी र राजनीतिक प्रभावभन्दा माथि उठेर हुनुपर्नेमा जोड दिए ।
सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुको साटो आतङ्कित बनाइरहेको कांग्रेसको ठहर छ। ‘सरकारका मन्त्रीहरू कानुन हातमा लिएर व्यवसायीका ‘हात भाच्ने’ जस्ता धम्कीपूर्ण भाषा प्रयोग गरिरहेका छन्,’ प्रवक्ता चालिसेले भने, ‘निजी क्षेत्रमाथि आतङ्क मच्चाएर मुलुकको अर्थतन्त्र चल्न सक्दैन।’
कांग्रेसले सरकारलाई आफ्ना स्वेच्छाचारी निर्णयहरू सच्याउन र संविधानको सीमाभित्र रहेर कार्यसम्पादन गर्न चेतावनी समेत दिएको छ। उनले सरकारका सबै नियुक्तिमा ‘राजनीतिक छाया’ देखिएको भन्दै योग्यता र पारदर्शीताका आधारमा मात्र अघि बढ्न सुझाव दिए ।
















