sevenstartv.com ३१ साउन २०८३, आइतवार

शेरबहादुर देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने काँग्रेस संस्थापन इतर पक्षको निर्णय

३१ साउन २०८३, आइतवार स्टार संवाददाता

काठमाडाैँ - नेपाली कांग्रेसको संस्थापन इतर पक्षीय नेताहरूको राष्ट्रिय भेलाले पार्टीको आगामी १५औँ महाधिवेशन पूर्वसभापति शेरबहादुर देउवाकै नेतृत्वमा सम्पन्न गर्ने निर्णय गरेको छ।

साउन २९ देखि ३१ गतेसम्म सम्पन्न भेलाले पार्टीको आन्तरिक सुदृढीकरण, आगामी कार्यदिशा तथा महाधिवेशनका सम्बन्धमा विभिन्न प्रस्ताव पारित गरेको हो। भेलाले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गर्ने तथा त्यसको नेतृत्व सभापति देउवाले नै गर्ने निर्णय गरेको जनाएको छ।

देउवाको नेतृत्वमा पार्टीलाई एकताबद्ध बनाई महाधिवेशन सफल पार्ने प्रतिबद्धता व्यक्त गर्दै महाधिवेशनसम्मका नियमित पार्टी गतिविधि सभापतिको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकहरूले संयोजन गर्ने निर्णय पनि भेलाले गरेको छ।

राजनीतिक प्रस्तावअन्तर्गत भेलाले वि.सं. २०३३ सालमा महामानव बीपी कोइरालाले अवलम्बन गरेको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिलाई वर्तमान सन्दर्भमा समेत सान्दर्भिक ठहर गरेको छ। मुलुकको विद्यमान जटिल परिस्थितिलाई दृष्टिगत गर्दै राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि अन्य लोकतान्त्रिक शक्तिहरूसँग निरन्तर संवाद र सहकार्य गर्ने नीति लिइएको नेता दीपक कुइँकेलले बताउनुभयो।

भेलाका निर्णय सार्वजनिक गर्दै कुइँकेलले नेपालको सनातन धर्म र संस्कृतिलाई राष्ट्रिय पहिचानको अभिन्न अङ्गका रूपमा स्वीकार गरिएको बताउनुभयो। हिन्दु, बौद्ध, किराँत र प्रकृतिलगायत धर्म तथा संस्कृतिको संरक्षण गर्ने दायित्वबोध गर्दै धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्न पार्टी प्रतिबद्ध रहने प्रस्ताव पारित गरिएको उहाँले जानकारी दिनुभयो।

संविधानका सम्बन्धमा जनअपेक्षा सम्बोधन गर्न आवश्यक संशोधनका लागि संवैधानिक व्यवस्थाअनुसार सम्बन्धित पक्षसँग संवाद गरी निकास खोजिने पनि भेलाले जनाएको छ।

भेलामा प्राप्त विभिन्न सुझाव तथा प्रस्तावलाई परिमार्जनसहित अन्तिम रूप दिने जिम्मेवारी नेता नारायणप्रकाश साउदको संयोजकत्वमा गठित समितिलाई दिइएको छ। समितिमा उमाकान्त चौधरी र सीता राना सदस्य तथा मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइँकेल सहयोगीका रूपमा रहेका छन्।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्