sevenstartv.com १ भदौ २०८३, सोमवार

ट्रंकलाइनको महसुल उठाउन कुलमानले थाले हस्ताक्षर अभियान

१ भदौ २०८३, सोमवार स्टार संवाददाता

काठमाडौँ - विद्युतमा लगाइएको कर हटाउन र डेडिकेटेड तथा ट्रंक लाइनको लामो समयदेखिको बक्यौता रकम असुल गर्न दबाब दिने उद्देश्यले ‘उज्यालो नेपाल पार्टी’ ले देशव्यापी हस्ताक्षर अभियान सुरु गर्ने भएको छ । पार्टीका अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा आगामी भदौ १ गतेदेखि २४ गतेसम्म देशव्यापी रूपमा यो अभियान सञ्चालन गर्न लागिएको हो। 

‘तपाईंको हस्ताक्षर, तपाईंको आवाज’ भन्ने नारासहित सञ्चालन हुन लागेको यस अभियानको उद्घाटन जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले गर्ने कार्यक्रम तय गरिएको छ। अभियानको औपचारिक सुरुवात भदौ १ गते बिहान ११ बजे काठमाडौँको माइतीघर मण्डलाबाट गरिनेछ। 

उज्यालो नेपाल पार्टीको भ्रातृ सङ्गठन ‘युवा तथा खेलकुद महासङ्घ’ ले संयोजन गरेको यस कार्यक्रमले सरकारलाई विद्युत् महसुलको अर्बौँ बक्यौता उठाउन र सर्वसाधारणलाई मारमा पार्ने गरी विद्युतमा लगाइएको कर हटाउन बाध्य पार्ने लक्ष्य राखेको छ।

पछिल्लो समय डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवादले निकै चर्चा पाइरहेका बेला यो राजनीतिक पहललाई अर्थपूर्ण रूपमा हेरिएको छ।  अभियान अवधिभर सङ्कलन गरिएको हस्ताक्षर सरकारलाई बुझाएर आफ्ना मागहरू पूरा गर्न कडा दबाब दिने योजना पार्टीले सार्वजनिक गरेको छ।

सुशासन, समृद्धि र सामाजिक न्यायलाई मुख्य एजेन्डा बनाएको उज्यालो नेपाल पार्टीले यो अभियानमार्फत आम नागरिकको साथ खोजेको छ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्