सुन तस्करीका मुख्य नाइके गोरेलाई थप १० वर्ष कैद सजाय
काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणका प्रमुख योजनाकार ‘गोरे’ भनिने चुडामणि उप्रेतीलाई उच्च अदालत मोरङले १० वर्ष कैद सजाय सुनाएको छ।
मोरङको उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले जिल्ला अदालत मोरङको फैसलालाई आंशिक रूपमा उल्ट्याउँदै नयाँ सजाय निर्धारण गरेको हो ।
आइतबार आएको फैसलाअनुसार मुख्य अभियुक्त गोरेलाई अपहरण तथा शरीर बन्धक मुद्दामा थप १० वर्ष कैद सजाय सुनाइएको हो । उच्च अदालत विराटनगरका न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजलासले यो मुद्दामा गत माघ २० गतेदेखि निरन्तर सुनुवाइ गरेका थिए । जिल्ला अदालत मोरङले उप्रेतीलाई कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय सुनाएको थियो ।
उच्चले जिल्ला अदालतबाट जन्मकैद ९२० वर्ष० तोकिएका केही प्रतिवादीहरूको सजाय भने घटाएको छ। नरेन्द्र कार्की, मोहन काफ्ले र भोजराज भण्डारीलाई १०–१० वर्ष कैद सजाय तोकिएको छ। जिल्ला अदालतले उनीहरूलाई २० वर्ष कैद तोकेको थियो। कर्तव्य ज्यान मुद्दामा मतियार मदन सिलवालको हकमा जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालतले ३ वर्ष कैद सजाय सुनाएको छ। लाक्पा शेर्पा र भविन तामाङका हकमा जिल्लाकै फैसला सदर भएको छ।



















