sevenstartv.com १६ साउन २०८३, शनिवार

सेवाग्राहीसँग घुस लिएको आरोपमा भूमि प्रशासन कार्यालय ललितपुरका तीन नायब सुब्बा र दुई लेखापढी व्यवसायी पक्राउ

१६ साउन २०८३, शनिवार स्टार संवाददाता

 जग्गाको बकसपत्र गराउने काममा सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय ललितपुरका तीन जना नायब सुब्बा र दुई जना लेखापढी व्यवसायीलाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेहरूमा नायब सुब्बाहरू उत्तम कुँवर, विशाल सुन्दास, राजकुमार मगर तथा लेखापढी व्यवसायीहरू शैलेन्द्र रानामगर र समीर कटवाल रहेका छन्।

उनीहरूले आपसमा मिलेमतो गरी जग्गाको बकसपत्र गराउने काममा सेवाग्राहीलाई दुःख हैरानी दिएर घुस माग गरेको सूचना तथा उजुरी आयोगमा परेको थियो। सोही आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिएको टोलीले उनीहरूलाई साउन १५ गते ललितपुर महानगरपालिका वडा नं. ४ स्थित एक होटलबाट नियन्त्रणमा लिएको हो।

उनीहरूलाई सेवाग्राहीबाट घुसबापत लिएको तीन लाख रुपैयाँ नगद र स्रोत नखुलेको थप २४ हजार आठ सय नब्बे रुपैयाँसहित नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्