हेटौंडा कपडा उद्योगको परीक्षण सफल : संचालनमा ल्याउने तयारीमा सरकार
विसं २०३२ सालमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा स्थापना भएको हेटौंडा कपडा उद्योग विसं २०५६ सालदेखि उत्पादन बन्द भएपछि २०५९ सालमा तात्कालीन शाही सरकारले उक्त उद्योग बन्द गर्ने निर्णय गरेको थियो ।
२४ बर्ष सम्म बन्द रहेको हेटौंडा कपडा उद्योग विगतमा पनि संचालनमा ल्याउन निकैकसरत भएकै हो । २४ बर्ष सम्म बन्द रहेको हेटौंडा कपडा उद्योगमा कपडा बुन्ने पुराना तान (लुम) फेरि चल्न थालेका छन् ।
उद्योगमा रहेका पुराना मेसिन मर्मत गरी आज शनिबार सफल परीक्षण उत्पादन सुरु गरिएको प्रधानमन्त्री बालेन्द्र शाहका निजी सचिव प्रदीप परियारले जानकारी गराएका छन् । नेपाली सेनाको नेतृत्वमा उद्योगभित्र रहेका पुराना मेसिन तथा तानहरूको मर्मतसम्भार गरी परीक्षण उत्पादन सुरु गरिएको परियारको भनाई छ ।
उद्योग पुनः सञ्चालनका लागि लामो समयदेखि भइरहेको प्रयासले अहिले परीक्षण उत्पादनको चरण पूरा भएको हो । नेपाली सेनाका जर्नेलको नेतृत्वमा पुराना मेसिन मर्मत गरी सञ्चालनमा ल्याइएको जनाइएको छ ।
हेटौंडा कपडा उद्योग लामो समयदेखि बन्द रहेकाले त्यहाँका मेसिन, विद्युत् प्रणाली तथा भौतिक संरचना जीर्ण अवस्थामा पुगेका थिए । पछिल्लो समय उद्योग परिसरको सरसफाइ, विद्युत् प्रणाली मर्मत तथा मेसिन परीक्षणको काम अघि बढाइएको थियो ।
उद्योगमन्त्री गौरीकुमारी यादवले रुग्ण उद्योगमध्ये हेटौंडा कपडा उद्योगलाई प्राथमिकतामा राखेर सञ्चालनमा ल्याउने र कपडा उद्योगसँगै बुटवल धागो कारखाना तथा कपास खेतीलाई समेत अघि बढाउने बताएकी थिइन् । सरकारले १८ असार हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेपछि परीक्षण उत्पादनको काम अघि बढेको हो ।

















