sevenstartv.com ३१ साउन २०८३, आइतवार

जाजरकोेट पहिरो अपडेट- तीन जनाको मृत्यु, दुई जना बेपत्ता

३१ साउन २०८३, आइतवार स्टार संवाददाता

काठमाडाैँ -अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना हराइरहेका छन् । पहिरोमा परी घाइते भएका सोही नगरपालिका–२ साल्धाराका ५२ वर्षीय केदार कार्कीको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ ।

बेपत्ता चार जनामध्ये सोही ठाउँकी ५४ वर्षीया उमासिंह खत्री र ८३ वर्षीया रति खत्रीको शव फेला परेको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले राससलाई जानकारी दिनुभयो ।

सोही नगरपालिकाको चिसापानीका ७० वर्षीय भमीबहादुर कार्की र गैरीगाउँका १४ वर्षीय हरिस विकको अवस्था अज्ञात छ । उक्त पहिरोमा पुरिएका ६२ वर्षीय रामबहादुर शाही, ४५ वर्षीय सिद्धिबहादुर कामी, ५८ वर्षीया कमला कार्की, २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिस शाही, ४५ वर्षीया सुन्तली चदरा र ६१ वर्षीया भद्रकला कार्की घाइते भएका छन् ।

घाइतेमध्ये रामबहादुर र भद्रकलाको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि नेपालगञ्ज र सुर्खेत पठाइएको छ । पहिरोमा बेपत्ता भएकाको खोजी गर्न नेपाली सेनासहित सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको नेतृत्वमा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली आज बिहानै त्यसतर्फ परिचालन भएका छन् । उक्त पहिरोबाट आठ घरमा क्षति भएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्